काठमाडौँ । नागरिकताको प्रतिलिपि लिनका लागि नागरिकता जारी भएको गृह जिल्लामै पुग्न नपर्ने भएको छ । नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले त्यो बाध्यता हटाएको हो।नियमावलीको नियम १६ घ मा ‘अन्य जिल्लाबाट प्रतिलिपि लिन सकिने’ व्यवस्था गरिएसँगै नागरिकता प्राप्त गरेको जिल्लाभन्दा बाहेकको अन्य जिल्लाबाट समेत प्रतिलिपि लिन सकिने भएको हो ।
नियमावलीको नियम १६घ को उपनियम (१) अनुसार ऐनको दफा ३ बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको नेपाली नागरिकले चार विशेष अवस्थामा अन्य जिल्लाबाट प्रतिलिपि लिन सक्नेछन् ।जसअनुसार नागरिकता आगलागी भई वा पानीले भिजी नष्ट भएमा, च्यातिई काम नलाग्ने भएमा, हराएमा तथा नयाँ ढाँचामा आवश्यक भएमा अन्य जिल्लाबाट प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको छ । अन्य जिल्लाबाट प्रतिलिपि लिन चाहने व्यक्तिले अनुसूची–१८ बमोजिमको ढाँचामा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।
अबदेखि बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने
निवेदनका साथमा च्यातिई काम नलाग्ने भएको वा नयाँ ढाँचामा आवश्यक भएको अवस्था भए नागरिकताको सक्कल प्रति तथा आगलागी वा पानीले नष्ट भएको र हराएको अवस्था भए नागरिकताको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।यसैगरी, निवेदकले राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजातसमेत अनिवार्य रूपमा पेस गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।
निवेदन प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले दुईवटा डिजिटल प्रणालीमार्फत विवरण यकीन गरेर मात्र प्रतिलिपि जारी गर्ने व्यवस्था गरिएको छ । उपनियम (२) अनुसार पहिले निवेदकले पेस गरेको विवरण ‘नागरिकता सूचना व्यवस्थापन प्रणाली’ मा रहेको विवरणसँग रुजु गरिनेछ ।
त्यसपछि निवेदकको जैविक विवरण लिई सो विवरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी प्रचलित कानूनबमोजिमको राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मा भएको विवरणसँग रुजु गरिनेछ ।
दुवै प्रणालीबाट विवरण यकीन भएमा नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेबमोजिमको विवरण उल्लेख गरी प्रमुख जिल्ला अधिकारीले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जारी गर्न सक्ने व्यवस्था नियमावलीले गरेको छ।








