चितवन । चाडपर्व सकिएसँगै चितवनका व्यवसायीहरूले साप्ताहिक बजार बिदालाई पुनः नियमित गर्ने भएका छन्। फेन्सी व्यवसायी संघ चितवनले आगामी सोमबार अर्थात् २०८३ साल कात्तिक ३० गतेदेखि साप्ताहिक बजार बिदा नियमित रूपमा लागू गर्ने जनाएको छ।
संघले सूचना जारी गर्दै आफ्ना सम्पूर्ण सदस्य व्यवसायीलाई साप्ताहिक बिदाको निर्णय पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। बजारमा एकरूपता कायम गर्नुका साथै व्यवसाय सञ्चालनलाई व्यवस्थित बनाउन सबै व्यवसायीको साथ र सहयोग आवश्यक रहेको संघले जनाएको छ।
यसैबीच, सुनचाँदी व्यवसायीहरूले पनि साप्ताहिक बजार बिदाप्रति ऐक्यबद्धता जनाएका छन्। बजार व्यवस्थापनलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउने उद्देश्यले सुनचाँदी व्यवसायीहरूले समेत सूचना जारी गरी निर्णयलाई समर्थन गरेका हुन्।
व्यवसायीहरूबीच आपसी एकता, सहकार्य र समझदारी कायम गर्दै बजारमा समान वातावरण सिर्जना गर्ने लक्ष्यसहित यो पहल अघि बढाइएको हो।
साप्ताहिक बजार बिदाले व्यवसायीलाई नियमित विश्रामको अवसर प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा समानता र बजार व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
निर्णयलाई सफल बनाउन सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिँदै फेन्सी व्यवसायी संघ चितवनले सम्पूर्ण व्यवसायीलाई साप्ताहिक बिदा अनिवार्य रूपमा पालना गरी सहयोग गर्न अपिल गरेको छ।








