चितवन । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) सौराहाको १४ औं बार्षिक साधारण सभामा फुड फेष्टिवलको आवव्याय सार्वजनिक तथा १५ औं सौराहा सडक फुड फेष्टिवल आयोजना गर्ने घोषणा गरिएको छ । गत बर्ष आयोजना गरिएको १४ औं सौराहा फुड फेष्टिवलको आयव्याड सार्वजनिक गर्दै फेष्टिबलका संयोजक धु्रव गिरीले फेष्टिवलमा ८२ लाख ३० हजार आम्दानी भएको र ७८ लाख ६६ हजार खर्च कटाएर ६ लाख ९६ हजार रुपैया नाफा भएको जानकारी दिए ।
फेष्टिवलमा भएको नाफा पर्यटन विकास र सामाजिक क्षेत्रमा खर्च गरिने संयोजक गिरीले जानकारी दिए । रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले कोरोना महामारीका कारण फेष्टिवलको आयव्याय सार्वजनिक गर्न ढिलाइ भएको बताए । साधारण सभामा बोल्दै अध्यक्ष खतिवडाले कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी यस बर्ष सौराहामा सडक फूड फेष्टिवल गरिने जानकारी दिए । खतिवडाले फुड फेष्टिवलको निरन्तरतालाई जोगाउन यस बर्ष सडक फुड फेष्टिवल गर्ने घोषणा गरे ।
सौराहा नजिक रहेको सिसुवार चौरमा हरेक बर्ष आयोजना हुँदै आएको फुड फेष्टिवल यस बर्ष सौराहाको मुख्य बजारमा हुने छ । सौराहाको हात्ती चोक देखि गैंडाचोक सम्म सडक फुड फेष्टिवल गरिने अध्यक्ष खतिवडाले जानकारी दिए । खुल्लाचौरको बन्द क्षेत्रमा आयोजना हुँदै आएको फेष्टिवल कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सौराहाको सडकमा फेष्टिवल गर्न लागिएको हो । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर नारायण वनले सौराहामा हुने फेष्टिवललाई स्थानीय सरकारले अभिभाबकत्व ग्रहण गर्ने बताए ।
उनले कोरोनाका बीचमा सौराहाको पर्यटन प्रर्बद्धनको लागि घुमौ सौराहा अभियानलाई देशव्यापी बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा सौराहाका व्यवसायी समेत रहेका वडा नं ७ का वडाध्यक्ष लालबहादुर भट्टले कार्यान्वयन गर्ने नसक्ने गरी छुट घोषणा गर्नु व्यवसायीको गल्ती भएको बताए । दिन नसक्ने भए किन घोषणा गर्नु भट्टले प्रश्न गर्दै भने यसले झन नकरात्मक सन्देश गएको छ ।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले सौराहाको पर्यटनलाई बचाइ राख्न छुट प्याकेज घोषणा गरिएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको बताए । रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव कृष्ण भट्टले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा केन्द्रीय रेवानका कोषाध्यक्ष नरेशध्वज श्रेष्ठ,रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्ष पुरु खनाल,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ,रेवान सौराहाका उपाध्यक्ष नरेश गिरी लगायतले मन्तव्य राखेका थिए ।








