चितवन । भरतपुर–१ रामनगरमा रहेको रामनगर पुष्प वाटिकाको बिहीबारबाट सर्वधासाधारणको लागि औपचारिक रुमा खुल्ला गरिएको छ । उक्त वाटिकाको आज पूर्व प्रहरी नायव निरीक्षक तथा समाजसेवी ज्ञानेन्द्र विक्रम महतले उद्घाटन गर्नुभयो । उद्धघाटनपछि बोल्दै प्रमुख अतिथि महतले रामनगरको उन्नति र विकासलाई अति उचाइमा पु¥याउने अभिलाषा रहेको बताउनु भयो ।
यस ठाउँ सुन्दर बनाउन सबै वर्ग र पदाधिकारीले यसको सुन्दरताको लागि सहयोग गर्नुपर्ने भन्दै रामनगरको विकास गर्नु सबैको दायित्व भएको र सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले निर्माणाधिन ‘रामनगर पुष्प बाटिका’ले यस ठाउँको सुन्दरता थपिएको र आगामी दिनमा अझ बढी पूर्वाधारहरु निर्माण गर्ने परिकल्पना समितिको रहेको बताए । कार्यक्रममा प्रहरी शिक्षालय भरतपुरका प्रहरी वरिष्ठ उपरीक्षक बुद्धि गुरुङले यस बाटिकाको लागि दानवीरहरुको ठूलो योगदानले सिंगो नेपालमा सबैको सहयोग गर्ने अनुभूत प्रेरणा सिर्जना भएको उनको भनाइ थियो ।
प्रहरी सुरक्षा, शान्तिको लागि सदैव तयार रहेको र यसमा जनताले पनि प्रहरीसँग साझेदारी गर्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष टंकनाथ पौडेलले समाजमा विकृति, विसंगति बढ्दै गएको बताए । समाजसेवा भावनाले अघि बढेकाहरुले तलब, भत्ता छोडेमात्र समाज परिवर्तन हुने उनको भनाइ थियो । समाजसेवीहरुले विसंगतिलाई हटाउँदै समाज रुपान्तरणमा योगदान दिनुपर्नेमा उनले जोड दिए ।
समितिका प्रमुख संरक्षक तारानाथ कुँवरले यस बाटिकाको आसपासमा टोड्के ताल, मचान, बेलटाँडी ताल, जुगेढाप, सिमसार ताल रहेको पर्यटकीय दृष्टिकोणले अत्यन्त रमणीय रहेको जानकारी गराए । समितिका उपाध्यक्ष भरत कुँवरले बाटिकाको लागि सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको बताए । बाटिकाको विकास निर्माणका लागि सबैबाट सहयोग र सुझावको अपेक्षा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा रामनगर टोल सुधार समिकिा अध्यक्ष टंकप्रसाद न्यौपाने, मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटालगायत मन्तव्य दिएका थिए । कार्यक्रममै स्थलमै सहयोगी दाताहरु बढ्दै गइरहेको थियो भने ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमका सभापति डिलकुमारी लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो ।









