चितवन । राप्ती नगरपालिका ७ का अधिकांश गाईमा वाँझोपनको समस्या देखिएको छ । हिजो सोमवार आयोजना गरिएको पशु स्वास्थ्य शिविरमा परिक्षण गराएका मध्ये प्राय सवै गाईमा वाँझोपनको समस्या देखिएको हो । शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्था र नेपाल पोलिटेक्निक इन्स्टिच्युटको आयोजना तथा राप्ती नगरपालिका पशुपंक्षी विकास शाखा र नेपाल भेटेरेनरी स्टुडेन्ट्स एसोसियसन एनपिआई को संयोजनामा सो वडाको डुडगाउँमा शिविर भएको थियो ।
शिविरमा कुल २५० वटा पशुहरुको जाँच गरिएको शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भुषालले जानकारी दिए । त्यस मध्ये गाई १५० वटा,भैसी २५ वटा,वाच्छी २० वटा,वाख्रा ४० वटा ,पाडी १० वटा र कुकुर ५ वटाको स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षण गराएका मध्ये अधिकांश गाईमा वाँझोपनको समस्या देखिएको संस्थाका अध्यक्ष भुषालले वताए । त्यस्तै छाला सम्वन्धी रोग रोग पनि देखिएको छ । सो शिविरमा गाईभैसीको गोवर समेत परिक्षण गरिएको थियो ।
परिक्षणका क्रममा करिव ९० प्रतिशत गाईभैंसीमा नाम्ले जुकाको समस्या देखिएको सहकारीका अध्यक्ष भुषालले वताए । राप्ती नगरपालिका पशुपंक्षी शाखा प्रमुख पशु चिकित्सक शैलेन्द्र भण्डारीले आवश्यक आहार नहुनु र सफासुग्गर नहुँदा गाईभैसीमा वाँझोपन,छालाको रोग देखिने गरेको वताए । सो शिविरमा प्राध्यापक डाक्टर किशोर शाह,डाक्टर एगेन्द्रकुमार श्रेष्ठ,डाक्टर टिकाराम न्यौपाने लगायत नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुको टोलीले पशुहरुको स्वास्थ्य परिक्षण गरेको थियो ।
साथै स्वास्थ्य जाँच पछि नेपाल पोलिटेक्निक इन्स्टिच्युटले निशुल्क रुपमा आवश्यक औषधी समेत वितरण गरिएको थियो ।








