चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानको खोजीमा दुर्लभ एकसिंगे गैंडा भारत तर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रीत भएका गैंडा विस्तारै भारत तर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षात्मा दुई वटा गैंडा सुस्ता हुँदै भारततर्फ गएका छन् ।
ती गैंडा भारतको वाल्मीकी टाईगर रिजर्बमा पुगेका छन् । बरालले निकुञ्जको टेम्पल, बगवन, भेलौजी हुँदै त्रिवेणीबाट भारत तर्फ जाने खतरा बढेको बताउनुभयो । उहाँका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा झण्डै ७० प्रतिशत गैंडा रहेका छन् । उहाँले भन्नुभयो “पश्चिमी क्षेत्रका गैंडालाई निकुञ्जको पूर्वी भागमा स्थानान्तरण गरिएन भने भारततर्फ जाने खतरा बढेर गयो ।” नेपालमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका अधिकांश घडियाल गोही भारत जाने गर्दछन् ।
यसैगरी यहाँका गैंडा भारत तर्फ जाने खतरा बढेको उहाँको भनाई छ । बि.सं. २०७४ सालमा आएको बाढीले निकुञ्जबाट ठूलो संख्यामा बगाएर गैंडा भारत पु¥याएको छ । उक्त समयमा भारतीय पक्षसँग समन्वय गरेर ११ वटा गैंडा उद्धार गरी ल्याईएको भए पनि पछिल्लो समय भारतले ल्याउन नदिएपछि अझै त्यहाँ गैंडा रहेका छन् ।
निकुञ्जको पूर्वी क्षेत्रमा गैंडाको बासस्थान राम्रो हुन नसक्दा गैंडा पश्चिम क्षेत्रमा केन्द्रीत हुँदै गएका हुन् । निकुञ्जले विगतका वर्षहरुदेखि नै गैंडा पश्चिमबाट पूर्वमा ल्याउने जनाउँदै आएको भए पनि ठोस काम हुन सकेको छैन । अब गैंडा पूर्व ल्याउनै पर्ने बराल बताउनु हुन्छ । निकुञ्ज भित्रको बासस्थान थप व्यवस्थित गरेर गैंडा स्थानान्तरण नगरे क्रमशः भारततर्फ जाने उहाँको भनाई छ ।
उहाँले थप्नुभयो “आन्तरिक रुपमा निकुञ्जभित्र बासस्थानको व्यवस्थापनमा अरु बढी जुट्नु पर्ने देखिएको छ ।” निकुञ्जको पश्चिमी क्षेत्रमा एकै ठाउँमा धेरै गैंडा हुँदा खानाको अभाव हुने, एकआपसमा जुधेर मर्ने समस्या पनि देखिएको छ । पोथीसँगको प्रजननको समयमा भाले गैंडाहरु एकआपसमा जुध्ने गर्दछ । निकुञ्ज भारतीय सीमा क्षेत्रमा पर्दछ । भारत तर्फ वाल्मीकि टाईगर रिजर्व छ । यहाँका पाटेबाघ लगायतका अन्य वन्यजन्तु पनि भारत जाने आउने गर्दछन्
। दुर्लभ एक सिंगे गैंडा संरक्षणमा राज्य र दातृ निकायले ठूलो लगानी गरेको भए पनि भारत तर्फ जाने समस्याबारे हालसम्म कुनै ठोस काम हुन सकेको छैन । नेपालका निकुञ्जहरुमा गत वर्ष गैंडा गणना गर्ने भनिए पनि कोरोना प्रभाव देखिएसँगै रोकिएको छ । यस वर्ष गैंडा गणना गर्ने तयारी भईरहेको छ । सन् २०१५ को गणनामा नेपालमा ६४५ गैंडा रहेकोमा यहाँ ६०५ गैंडा रहेका थिए ।








