नवलपुर । रजहरको प्राकृतिक चिकित्सालयले अब फेरि पहिलेदेखि नै दिने गरेको प्राकृतिक उपचार सेवा दिने भएको छ । यही फागुनबाट प्राकृतिक चिकित्सालयले आफूले प्रदान गर्दे आएको सेवालाई निरन्तरता दिने जानकारी दिएको छ । कोबिड १९ महामारीको समयमा संक्रमितलाई राख्ने स्थान अपुग भएपछि कोरोना संक्रमितलाई उपचार गर्ने जिल्ला अस्पताल अन्तर्गतको अस्थायी कोभिड अस्पतालका रुपमा प्रयोग भएको चिकित्सालयले अव आफ्नो उदेश्य सहितको सेवा सञ्चालन गर्ने तयारी गरेको चिकित्सालयका ब्यवस्थापक हरि सापकोटाले जानकारी दिए ।
चिकित्सालयलाई कोभिड उपचार अस्पतालका रुपमा स्थापना गरिएसँगै ७ सय ७८ जनाले रजहरबाट सेवा पाएका थिए । कोरोना कहरका बेला बिभिन्न समस्याबाट पिढीत बिरामीहरुले चिकित्सालयका स्वास्थ्यकर्मी, प्राविधिक लगायतसँग फोन, एसएमएस, भर्चुअल, अनलाईन बिभिन्न माध्यमवाट सेवा लिनुपर्ने बाध्यता रहेको थियो ।
कोभिडका बेला अन्य सबै सेवाहरु बन्द गरेर कोरोना नियन्त्रण र उपचारमा अनुकरणीय सेवा प्रदान गरेको चिकित्सालयले अव फागुन १ देखि नियमित रुपमा आफ्ना उपचार पद्धतिले स्वास्थ्य समस्याबाट पिडीत बिरामीलाई उपचार गरिने चिकित्सालयका निर्देशक डा। बिनोद पौडेलले बताए ।








