नवलपुर । नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सूर्यभक्त पतनादेवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई प्रदान गरिने भएको छ । युनियनको आईतबार कावासोतीमा सम्पन्न बैठकले पोख्रेललाई पुरस्कर दिने निर्णय गरेको प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताउनुभयो ।
पच्चिस हजार रुपैया पुरस्कार राशी रहेको सो पुरस्कार यहि फागुन ७ गते प्रदान गरिने पराजुलीले जानकारी दिनुभयो । यस वर्षको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि छनौट भएका पत्रकार पोख्रेलले २०५० सालदेखि पत्रकारिता सुरु गर्नु भएको थियो । २०५३ सालमा प्रेस युनियन दाङको सस्थापक सचिब भएका पोख्रेल ०५६ सालमा पत्रकार महासंघ दाङको उपाध्यक्ष, २०५९ सालमा नेपाल पत्रकार महासङको केन्द्रिय उपाध्यक्ष, २०६३ सालमा प्रेस काउन्सिलको सदस्य हुँदै हाल नेपाल पत्रकार महासङको वरिस्ठ उपाध्यक्ष पदमा रहेर काम गरिरहनु भएको छ ।
वरिष्ठ पत्रकारहरु कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, पोषण केसि, रामजी दाहाल सूर्यभक्त पतनादेवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ । गत वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई यो पुरस्कार प्रदान गरिएको थियो । प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उहाँकीपत्नी पतनादेवि अधिकारीको स्मृतिमा मृत्युपर्यन्त अधिकारी दम्पतिका छोरा मदनभक्त अधिकारीले सो पुरस्कारको स्थापना गर्नु भएको थियो ।








