पोखरा । ’मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’ को खेल तालिका सार्वजनिक भएको छ । आयोजक कास्की जिल्ला भलिबल संघले सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज (मंगलबार) हुने प्रतियोगिताको पहिलो खेल महिलातर्फको हुनेछ ।
बिहान ९ बजे सुरु हुने पहिलो खेलमा समूह ’ए’ को म्याग्दी जिल्ला र नवलपुर जिल्लाबीच खेल हुनेछ । यस्तै दोस्रो खेलमा पर्वत र स्याङ्गजा भिड्ने छन् । तेस्रो खेलमा तनहु र लमजुङबीच खेल हुनेछ । पुरुषतर्फ पहिलो दिन चार खेल हुनेछ । पुरुषको पहिलो खेलमा तनहु र मुस्ताङबीच खेल हुनेछ । दोस्रो खेलमा स्याङ्गजा र कास्की, तेस्रो खेलमा बाग्लुङ र म्याग्दी तथा अन्तिम खेलमा नवलपुर र गोरखा भिड्ने छन् ।
हरेक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् । पाँच दिन चल्ने प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २÷२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १÷१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५÷५ हजार पाउने आयोजकले जनाएको छ ।








