चितवन । चितवनको इच्छाकमना ५ मुग्लिनमा रहेको ट्राफिक प्रहरीको कार्यालयको निर्माण कार्य सुरु भएको छ । मुग्लिनका स्थानीयको सक्रियतामा भवन निर्माण कार्य सुरु भएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बागमती प्रदेश ट्राफिक कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइराला, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट र स्थानीय, राजनितिक दलका प्रतिनिधि संघ सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मंगलबार शिलान्यास गर्नुभएको हो ।
स्थानीयको विशेष पहलमा गाउँपालिकाले रु पाँच लाख उपलब्ध गराएपछि भवन निर्माण कार्य सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताउनुभयो । अहिले तत्काल स्थानीय र गाउँपालिकाको सहयोगमा भवन निर्माण कार्य सुरु गरेको र अपुग बजेटका लागि कार्यप्रगति विवरणको आधारमा केन्द्र प्रदेश सरकारसंग पहल गरिने उहाँले बताउनुभयो ।
स्थानीय तथा भवन निर्माण समितिका अध्यक्ष सावित्रि पुडासैनीले ट्राफिक प्रहरीलाई काम गर्न सहज होस भनि स्थानीयहरुले भवन निर्माणका लागि अग्रसर भएको बताउनुभयो । मंगलबार मात्र स्थानीयहरुबाट सिमेन्ट र नगद गरि रु ८० हजारको सहयोग प्राप्त भएको बताउनुभयो । अहिले ट्राफिक प्रहरी कार्यालय भाडामा रहेको छ । ९ जनाको दरबन्दी रहेको मुग्लिनमा अहिले ५ जना मात्र कार्यरत छन् ।








