चितवन। योगीको १०६औँ जन्म जयन्तीको अवसरमा आज देवघाटको वागीश्वरीस्थित वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा उहाँको योगदानबारे प्रवचन गरिएको थियो ।
कार्यक्रममा महेश सन्यास आश्रमका प्राचार्य प्राडा गुरुप्रसाद सुवेदीले योगीको व्यक्तित्वमाथि चर्चा गर्दै राष्ट्रिय स्वाधीनताका सवालमा पनि योगी अत्यन्त सजग रहेका बताउनुभयो । उहाँले योगी नरहरिनाथलाई सबैले जान्नु आवश्यक रहेको भन्दै उनलाई जान्ने क्रममा सम्पूर्ण राष्ट्रको भूगोल, इतिहास, पुरातत्व संस्कार, संस्कृति, सभ्यता जान्न सकिने बताउनुभयो ।
योगीसँग जोडिएका सबै विषयहरु सार्वजनिक सरोकारका विषय भएको उहाँको भनाइ थियो । सो कार्यक्रममा योगीको जीवनीको बारे विद्यावारिधी गर्दै गर्नुभएका यदुनाथ पोखरेलले उनको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । निडर र साहसिक व्यक्तित्वको रुपमा योगी नरहरिनाथ रहनुभएको भन्दै उहाँले योगीको बारेमा विदेशी सञ्चारमाध्यमले समेत महत्वपूर्ण स्थान दिने गरेका बताउनुभयो ।
त्यस्तै योगी नरहरिनाथको व्यक्तित्वमाथि श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पिया, सल्लाहकार शान्तप्रसाद पोखरेल, देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष एंवम बरिष्ठ समाजसेवी टंकनाथ पौडेल, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारी, योगी नरहरिनाथ आश्रमका प्रमुख योगी पिताम्बरलगायतले चर्चा गर्नु भयो ।








