काठमाडौँ । काठमाडौंको टुँडिखेलमा सेना दिवसमा सैन्य अभ्यास गर्ने क्रममा काठमाडौँको प्रदर्शनीमा सेनाको प्याराग्लाइडिङ दुर्घटना भएको छ । सैन्य अभ्यासका अभ्यासका क्रममा सेनाको प्यारासुट अनियन्त्रित भइ जम्मा १४ जना प्यारासुटबाट झरेकामध्ये ८ जना टुँडिखेल सैनिक मञ्च भित्र र हावाको प्रभावका कारण ६ जना टुँडिखेलभन्दा बाहिर अवतरण गरेका छन् । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हावाको प्रभावका कारण प्याराग्लाइडिङ अनियन्त्रित भई दुर्घटनामा परेको हो । प्याराग्लाइडिङमा सवार तीनजना घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार तीनै जनाको अवस्था सामान्य रहेको छ । सेनानीसहित दुईजना भृकुटीमण्डपको ग्राउण्डमा अवतरण गर्दा उनीहरुलाई सामान्य चोट लागेको थियो भने एकजना सह-सेनानी राष्ट्रिय सभागृहको रुखको हांगामा खसेको र हातमा हल्का चोट लागेको थियो । यस्तै अन्य तीनजनामध्ये एकजना सिंहदरबार आसपास, एकजना अनामनगर र एकजना भद्रकालीस्थित आर्मी हेडक्वार्टर नजिकै पेट्रोल पम्प आसपासमा अवतरण गरेका थिए । उनीहरुको अवस्था सामान्य रहेको सैनिक निर्देशनालयले जनाएको छ।








