काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी वितरणसँगै ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । दमकलले पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई फायर हाइड्रेन्ट भनिन्छ । यो आधुनिक प्रविधिमा आधारित हुनेछ । राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई दृष्टिगत गर्दै मेलम्ची खानेपानी आयोजनाले चक्रपथभित्र ३५० स्थानमा ‘फायर हाइड्रेन्ट’ को स्थापना गर्न लागेको हो ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले घना बस्ती र आवादीका कारण दिनका दिन आगलागीको जोखिम बढ्दै गएको राजधानीमा मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याइने जानकारी दिए । मेलम्चीको पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रहरूमा अहिलेसम्म २३० वटा ‘फायर हाइड्रेन्ट’ जडान भइसकेका छन् ।
आयोजनाका अनुसार थप माग र आवश्यकताका आधारमा अरू करिब दुई दर्जन ठाउँमा ‘फायर हाइड्रेन्ट’ जडान गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । उनका अनुसार, ‘फायर हाइड्रेन्ट’ चौबिसै घण्टा सञ्चालनमा आउने छन् । मेलम्ची खानेपानी आयोजनाले ‘फायर हाइड्रेन्ट’ सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिरहेको छ । राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई विचार गर्दै पानी वितरण सञ्जालको निर्माणसँगै ‘फायर हाइड्रेन्ट’ स्थापनाको कार्यलाई अगाडि बढाएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
सहरी क्षेत्रमा आगलागीको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमा नै प्रभावकारी मानिन्छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।








