काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग परिवारले नलिने जनाएको छ । मष्तिस्कघात भएर उपचार गराईरहेका जोशीका परिवारले सरकारले दिने भनेको उपचार सहयोग नलिने जनाएको हो ।
सहयोग रकम परिवारले नलिने घोषणा गरेको जोशीका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए । सरकारले बिहीबार मन्त्रिपरिषद्बाट जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको भएपनि सो रकमले विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न परिवारले आग्रह गरेको छ ।
सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना रहेको पाण्डेले बताए ।
पूर्वउद्योगमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जोशीले यसअघि नै आफ्ना पिता गजेन्द्रराज जोशीको नाममा गरिब, दुःखीको उपचारका लागि वीर अस्पतालमा १० लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेका छन् ।








