चितवन । वन तथा वातावरण मन्त्री प्रेम आलेले नेपाललाई गैंडा संरक्षणमा देखिएका समस्याहरुलाई न्युनिकरण गर्दै जानुपर्ने बताउनुभयो । आज ( सोमबार) सौराहामा भएको राष्ट्रिय गैंडा गणना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकहरु पनि गैंडा हेर्नकै लागि नेपाल आउने भएकाले गैंडा संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
गैंडाको संरक्षण गरेर नेपाललाई गैंडाको देश भनेर चिनाउन आबश्यक रहेको बताउनुभएको छ । गैंडाको चोरी शिकारी समेत धेरै हुने भन्दै चोरी शिकारीमा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न निकुञ्जका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । मन्त्री आलेले भन्नुभयो “बिभिन्न तस्करहरुबाट खागका लागि गैंडा मारिने गरेको छ । यस्ता नाकाहरुमा कडाइ गर्दै जानु पर्छ । विभिन्न प्राकृतिक कारणहरुले गर्दा समेत गैंडा बिस्थापित हुने खतरा वढ्दै गएको उहाँको भनाई थियो ।
उहाँले दुर्लभ एक सिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइने भएकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले सन् २०१५ को गणना यता १ सय ६१ वटा गैंडा मृत अबस्थामा भेटिएको जानकारी दिनुभयो । उहाँले मृत अबस्थामा भेटिएका गैंडा मध्ये १ सय ५५ वटा गैंडा प्राकृतिक कारण र ६ वटा गैंडा चोरी शिकारीका कारण मरेका बताउनुभयो । उहाँले चोरी शिकारीमा संलगन २३ जनालाई पक्राउ गरिएको बताउनुभयो ।
वरालका अनुसार चालु आर्थीक वर्षको साउन यता मात्रै निकुञ्जमा २६ गैंडा मरेका छन् । जस मध्ये चार वटा चोरी शिकारीले मारेको उहाँले बताउनु भयो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार हरेक ५ वर्षमा गैंडा गणना गर्ने गरिन्छ । यस अघि सन २०१५ मा गैंडा गणना गरिएको थियो । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कुल ६ सय ४५ वटा गैंडा थिए । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा व्लक वनाएर आजबाट गणना सुरु गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओली, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, बन मन्त्रालयका सचिब डा। विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। दिपक कुमार खरालले मन्तव्य राख्नु भएको थियो ।








