काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष सहमत भएको छ ।
एमाले संसदीय दलको बुधबार बसेको बैठकमा सहभागी भएका खनाल नेपाल पक्षका सांसदहरु मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन सकारात्मक देखिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै विभाजित भएको एकिकृत नेकपाको खनाल नेपाल र प्रचण्ड पक्षले पुस १२ गते मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
तर, सर्वोच्च अदालतले एकिकृत नेकपालाई खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्यूँताएपछि पहिलो पटक बसेको दलको बैठकले एक साताभित्र अविश्वासको प्रस्ताव फिर्ता लिन सांसदहरुलाई निर्देशनसमेत दिएको छ । यस्तै, बैठकले दलको नेताको नेतृत्वमा संसदीय बोर्ड पनि गठन गरेको छ ।
संसदीय बोर्डमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसहित काजीमान कागते, आशारत्न जवेगु, लीलाबल्लभ अधिकारी, तुलसी न्यौपाने, विमल कार्की, यशोदा अधिकारी, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेतलगायतलाई मनोनयन गरिएको छ ।








