काठमाडौं । सरकारले हालै सहसचिवमा बढुवा भएका ४४ जनासहित ७९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मंगलबार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयले योग्यता, दक्षता र क्षमताका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले ‘राइट पर्सन इन राइट प्लेस’को नीतिका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जानकारी दिए । मन्त्रालयका अनुसार सरुवा तथा पदस्थापन भएकाहरूमा हालै सहसचिवमा बढुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव कृष्णप्रसाद सापकोटा र ईश्वरीप्रसाद अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ । यसैगरी अतिरिक्त समूहमा रहेका थानप्रसाद पंज्ञेनी, अच्युतप्रसाद सिवाकोटी, उमाकान्त आचार्य, ईश्वरीप्रसाद अर्याल, बाबुराम सुवेदी, विश्वप्रसाद अर्याल र महेश भट्टराईलाई अर्थ मन्त्रालय वा अन्तर्गत पदस्थापन गरिएको छ ।
यसैगरी गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा र गृहकै रमेशकुमार केसीको आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश, पोखरामा सरुवा भएको छ । अर्थ मन्त्रालयका झलकराम अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका गोपाल प्रसाद रेग्मीलाई कलैया उपमहानगरपालिका बाराको प्रमुख प्रशासकीय अधिकृतमा, आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश पोखराकी चन्द्रकला पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, बुटवलका नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका विष्णुप्रसाद शर्मालाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै मधेसी आयोगका धमेन्द्र मिश्र, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका टेकराज निरौला, वन तथा वातावरण मन्त्रालयका नवराज ढुंगाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका भरतमणि पाण्डेको गृह मन्त्रालयमा सरुवा गरिएको छ । हालै मात्रै सहसचिवमा बढुवा भई सामान्यको अतिरिक्त समूहमा रहेका होमप्रसाद लुइँटेल, विश्वप्रकाश अर्याल, शिवराम गेलाल, राजेन्द्रदेव पाण्डे, सुनिल खनाल, कमलराज ढकाल, नवराज सापकोटा, रामप्रकाश पाण्डे, सुशील वैद्य, कृष्णप्रसाद पन्थ र जनार्दन गौतमको पनि गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव अनिता निरौलालाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।








