चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । राप्ती नगरपालिका वडानम्बर-४ सुन्दरबस्ती घर भएका ३६ वर्षीय डोलराज खरेललाई प्रहरीले पक्राउ गरेको हो ।
खरेलको घरकोठामा लागुऔषध गाँजा सञ्चय गरी राख्ने र त्यहीँबाट बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचना पाएको प्रहरीले वैशाख २१ गते बिहान ईलाका प्रहरी कार्यलयबाट प्रहरी अधिकृत सहितको टोली गएर पक्राउ गरेको हो ।
खाटको डसना मुनी स–साना प्लाष्टिकमा पोका पारी राखेको र घरको दक्षिणतर्फ रहेको चर्पी नजिकै प्लाष्टिकको बोरामा लागुऔषध गाँजा २ किलो ४५० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नाउब उपरीक्षक सरोग गिरीले जानकारी दिए ।








