चितवन । चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित गौरी गाई गणना सुरु भएको छ । ५ वर्षपछि हुने लागेको गौरी गाई गणना तीनदिनसम्म चल्ने निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जले आन्तरिक व्यवस्थापनमा गणना सुरु गरेको जानकारी दिए । गणनामा २२ वटा हात्ती र २२ जना गणना खटिएका छन् ।
निकुञ्जको त्रिवेणी, चुरे, टाइगरटप्स क्षेत्रमा बढी मात्रामा गौरी गाई पाइने प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए । संयुक्त राष्ट्रसंघको इन्टरनेसनल युनियन फर नेचर कन्जरभेसनले दुर्लभ जातिको सूचीमा गौरीगाईलाई राखेको छ । निकुञ्जको आन्तरिक तीन लाख बजेटबाट गौरी गाई गणना गर्न लागिएको हो । हेड काउन्टमार्फत गणना गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
यसअघि सन् २०१६ मा चितवन राष्ट्रिय निकुञ्जमा गरिएको गणनामा गौरी गाईको संख्या ३६८ रहेको थियो । पर्सामा १०५ वटा रहेका छन् । यो संख्या सन् २०११ मा गरिएको गणनाभन्दा ५६ ले बढी हो । सन् २०११ को गणनामा निकुञ्जमा ३१२ वटा गौरी गाई थिए । चितवन राष्ट्रिय निकुञ्जमा ११५ वटा भाले र १४८ वटा पोथी, लिङ्ग नछुट्टिएकामा वयस्क गौरीगाई ७२ वटा र ३३ वटा बच्चा रहेको गणनाले देखाएको थियो ।
नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा मात्रै गौरीगाई पाइन्छ । नेपाल, भारत, भुटान, बंगलादेश, मलेसिया, चीन, बर्मा, भियतनाम, लाओस, कम्बोडिया र थाइल्याण्डसहित ११ देशमा गौरी गाई पाइन्छ । यसका तीन उपप्रजाति हुन्छन् । तीमध्ये नेपाल र भारतमा बोस गौरर्स गौर्स उपप्रजाति पाइन्छ ।








