चितवन । कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पुर्याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्याउँदै आएको हो ।
स कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार छ जना रहेका छन् । जस मध्ये ४५ जना बालवालिका रहेका छन् । औषधि सेवन गर्दै आएका मध्ये ३० प्रतिशतले अस्पतालमानै आएर औषधि लैजाने गरेका छन् भने बाँकी ७० प्रतिशतलाई घरमानै पुर्याउने व्यवस्था गरिएको कार्यालयका प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए ।
उनका अनुसार अहिले भरतपुर महानगरपालिका र आसपासका पालिकाहरुबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढा कार्यालयलेनै पुर्याउँदै आएको छ । यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्विनी प्लस नामक संस्थाले सहयोग गरेका छन् । कार्यालयका तर्फबाट कर्मचारी धिरण अधिकारीले औषधि पुर्याउँदै आएका छन् ।
यस कार्यालयले चितवन, मकवानपुर, वर्दघाट–सुस्ता पूर्व नवलपरासी, वर्दघाट –सुस्ता पश्चिम नवलपरासी, गोरखा, लम्जुङ्, तनहुँ र धादिङ्का सङ्क्रमितहरुलाई घरमानै औषधि पुर्याउने गरेको छ । उनले भने, ‘निषेधाज्ञा सुरु भएदेखि अहिलेसम्म ३ सय ९० जनालाई घरमानै औषधि पुर्याएका छौ ।’ नजिकका भए एक महिनाको लागि र टाढाका भए दुई महिनाको लागि औषधि पुर्याइँदै आईएको उनले जानकारी दिए । औषधि वितरणका लागि भरतपुर अस्पतालले सहजिकरण गरेको औषधि पुर्याउँदै आएका अधिकारी बताउँछन् ।
उनले भने, ‘एचआईभि एड्स सङ्क्रमितहरुलाई घरमा औषधि पु¥याउनका लागि भरतपुर अस्पतालको ठूलो सहयोग रहेको छ ।’ परिचय पत्र निर्माणदेखि स्थानीय प्रशासनसँग समन्वय गर्ने काम अस्पतालले गरिदिएको उनले बताए । कोरोना कहरका कारण अस्पतालमा आएर औषधि लिन नसक्ने एचआईभि सङ्क्रमितहरु घरमानै औषधि पाउँदा लाभान्वित भएका छन् । फाउण्डेसनमा दर्ता भएका १ हजार ५ सय ८५ जना सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये कतिपयले अन्य केन्द्रबाट औषधि लिदै आएका छन् ।








