काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबारराति बसेको बैठकले सबै नागरिकलाई निःशुल्क खोप लगाउने निर्णय गरेको हो । आगामी असोज मसान्तभित्र एक तिहाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप लगाइने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै मन्त्रिपरिषद बैठकले सरकारको प्रवक्तामा मन्त्री कार्कीलाई तोकेको छ । मन्त्रिपरिषद्को बैठकले शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा पनि राखेको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरुत्थान गर्ने विषय सरकारको उच्च महत्वमा रहेकोपनि जनाइएको छ ।
कोभिड–१९ को रोकथाम नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिँदै प्रवक्ता कार्कीले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक हप्ताभित्र विशेष प्याकेज ल्याइने जानकारी दिऐ ।
विकास निर्माण कार्यमा तीव्रता दिँदै सार्वजनिक सेवाको प्रभावकारी वितरण, संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदुढीकरण, विपद्को प्राथमिकताका आधारमा व्यवस्थापन र स्थानीय तहको निर्वाचनलाई सरकारले आफ्नो प्राथमिकतामा राखेको छ । कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने जनाएको छ ।








