हेटौडा । मकवानपुर प्रहरीले १२७ किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, भारतको समस्तिपुर बस्ने १८ वर्षीय राहुल कुमार सहनी र पर्साको बिरगंज महानगरपालिका वडा नम्वर ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज बिहान मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिणामको गाँजा बराबद भएपछि निजहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उनका अनुसार, उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका ट्रक चालक रामराम सहनी, सवार राहुल कुमार साहनी र रियाजुल अंसारीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।








