हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १५ गते(आज)बाट नियमित सेवा प्रवाह गर्ने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले कार्यालयले केही सेवामा लगाएको आलोपालोको व्यवस्था हटाउँदै आजबाट नियमित सेवा प्रवाह गर्न लागेको हो ।
प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आजबाट नागरिकता र राहदानी सम्बन्धी सेवामा लगाएको आलोपालो व्यवस्था हटाइएको जनाएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन २८ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवाहरु निश्तिच दिनमा मात्रै प्रदान गर्दै आएको थियो ।









