काठमाडौँ । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेमाथि ४-१ को सानदार जित निकालेको हो ।
घरेलु मैदानमा ब्राजिललाई जिताउन राफिन्हाले दुई गोल गरे । नेयमार र ग्राबियल बारबोसाले एक/एक गोल गरे । उरुग्वेका लागि लुइस स्वारेजले एक गोल फर्काए । खेलको १० औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । उनको यो ब्राजिलका लागि ७० औं अन्तराष्ट्रिय गोल हो । १८ औं मिनेटमा राफिन्हाले ब्राजिलको अग्रता दोब्बर बनाए ।
५८ औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई जिततर्फ लगे । तर, ७७ औं मिनेटमा स्वारेजले गोल गर्दै उरुग्वेलाई खेलमा फर्काउने प्रयास गरेपनि ८३ औं मिनेटमा ग्राबियलले गोल गर्दै ब्राजिललाई ४-१ को जित दिलाए । जितसँगै छनोटमा अपराजित रहेको ब्राजिल ११ खेलबाट ३१ अंक जोडेर शिर्षस्थानमा यथावत रहेको छ ।
अर्जेन्टिना शीर्षस्थानको ब्राजिलसँग ६ अंकले पछि छ । पराजित उरुग्वे भने १२ खेलमा १६ अंक जोडेर पाँचौँ स्थानमा छ ।








