काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले जित हात पारेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई १-०ले पराजित गर्दै चेल्सी शिर्षस्थानमा उक्लेको हो । चेल्सीको जितमा बेन चिलवेलले एकमात्र निर्णायक गोल गरे ।
उनले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने मौका पाए पनि अवसर सदुपयोग गर्न सकेनन् । जितसँगै लिगको शीर्ष स्थानमा उक्लिएको चेल्सीको ८ खेलमा १९ अंक छ भने पराजित ब्रेन्टफोर्ड १२ अंक जोडेर सातौं स्थानमा छ । साथै, लिगकै अर्को खेलमा म्यानचेष्टर सिटीले बर्नलीमाथि २-०को जित निकालेको छ ।
सिटीको जितमा बर्नान्डो सिल्भा र केभिन डि ब्रुयनेले एकएक गोल गरे । सिटी ८ खेलमा १७अंक जोडेर तेस्रो स्थानमा छ भने बर्नली ३अंक जोडेर रेलिगेसन जोनमा छ ।








