काठमाडौं । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडलाई हारबाट जोगाएका छन् । मंगलबार राति च्याम्पियन्स लिगमा रोनाल्डोकै गोलमा युनाइटेड इटालियन क्लब एटलान्टासँग हारबाट जोगिएको छ ।
हारको नजिक पुगेको युनाइटेडका लागि इन्जुरी समयमा रोनाल्डोले बराबरी गोल गरेका थिए । रोनाल्डोको दुई गोलको सहयोगमा युनाइटेडले एटलान्टासँग २–२ गोलको बराबरी खेलेको थियो । समूह एफको खेलमा सुरुवाती अग्रता घरेलु टोली एटलान्टाले जोसिप इलिसिकको गोलबाट लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजको पासलाई सदुपयोग गर्दै रोनाल्डोले बराबरी गोल फर्काएका थिए ।
५६ औं मिनेटमा डुभान जापाटाको गोलमा पुन घरेलु टोलीले अग्रता लिएको थियो । खेलको अन्तिम समयमा मासन ग्रिनउडको पासमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । बराबरी सहित युनाइटेडले समूह एफको शीर्ष स्थानमा कायमै रहेको छ ।
युनाइटेड र भिल्ला रियलले ४ खेलबाट समान ७ अंक जोडेका छन् । एटलान्टाले ५ तथा योङ्ग ब्वाइजले ३ अंक जोडेको छ ।








