हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतकका ससुरा र नन्द रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । अनुसन्धानका लागि मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय नन्द सीता थापालाई पक्राउ गरेको रानाले बताए । उनीहरूमाथि ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सुस्मिताको शव असार २ गते भान्सा कोठामा फेला परेको थियो । उनको शव टाउकोमा चोट लागेको र भान्सामा रगत बगेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सुस्मिताका पतिको ६ महिना अघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । घरायसी विवादमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।








