हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलबाट दुर्घटनामा घाइते भएका एक चेपाङ युवकलाई आर्थिक सहयोग गरेको छ । मोटरसाइकल दुर्घटनामा परि बायाँ खुट्टा गुमाएका राक्सिराङ गाउँपालिका वडा नम्बर ४ गौथलीटारका जितन चेपाङलाई २५ हजार रुपैंया सहयोग गरेको हो । उनको कृत्रिम खुट्टा हाल्नका लागि संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सिफारिसमा उपलव्ध रकम प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङले हस्तान्तरण गरेका छन् । उनले आफ्नो सेवा सुविधाबाट २० हजार रुपैंया थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हस्तान्तरण कार्यक्रममा आदिवासी जनताजाति महासंघ मकवानपुर उपाध्यक्ष खेम चेपाङ, नेपाल चेपाङ संघ मकवानपुर अध्यक्ष पूर्णबहादुर चेपाङ लगायतको उपस्थिति थियो । जितनको कृत्रिम खुट्टा हाल्नका लागि ३ लाख रुपैंया लाग्ने र थप आर्थिक सहयोग जुटाउने प्रयास भईरहेको सांसद सन्तबहादुर चेपाङले बताए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले यसअघि पनि पारामोटर बनाउने काम गरिरहेका चितवन राप्ति नगपालिका वडा नम्बर २ पिप्लेका सरोज चेपाङलाई पनि उनको सिर्जनशिलता प्रवद्र्धनका लागि ५० हजार रुपैंया उपलव्ध गराएको संसदीय दलका सचिव निमा लामाले जानकारी दिए ।








