चितवन । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको स्कार्पियो त्रिशुली नदीमा खसेर घाइते हुने सबैको पहिचान खुलेको छ । शुक्रबार साँझ १७ः३० बजे बा १३ च ४३६५ नम्बरको स्कार्पियो इच्छाकामना गाउँपालिका–६ स्थित ३ नम्बर पुलबाट त्रिशुली नदीमा खस्दा सात जना घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार घाइते हुनेहरुमा काठमाडौंको ईमाडोलका २१ वर्षीय जोशी बैदवार, कैलालीको अत्तरिया नगरपालिका ८ का २५ वर्षीय सुरेश चौधरी, कैलालीकै २६ वर्षीय अनिल चौधरी, काठमाडौंका २८ वर्षीय सुमनलाल श्रेष्ठ, स्कार्पियो चालक सिन्धुलीको हरिपुर नगरपालिका ३ का ३७ वर्षीय उमेश कुमार राई, कञ्चनपुरको हेमदत्त नगरपालिका ११ का २३ को प्रकाश नाथ र ललितपुर भैसेपाटीका २८ वर्षीय निकेश श्रेष्ठ रहेका छन् ।
उनीहरु सबैको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । डिएसपी अधिकारीका अनुसार सबैको अवस्था मध्यम छ । शुक्रवार साँझ स्कार्पियो आँफै अनियन्त्रित भई सडकबाट करीब मिटर तल नदीमा खसेको थियो ।








