चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । सेवालाई सहज र कार्यालयमा बढी भिडभाड हुन नदिन अनलाइन टोकन लागु गरिएको हो । सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा सवारी नविकरणका लागि अनलाइन टोकन सुरु गरिएको हो । कार्यालयले अनलाइन टोकन प्रणालीलाई प्रभावकारी बनाउन जोड दिइरहेको छ ।
कार्यालयमा लाइसेन्सका लागि यस अघि नै अनलाइन टोकन सुरु गरिएको थियो । अहिले कोभिड संक्रमणको जोखिम बढेसँगै सवारी नविकरणमा पनि अनलाइन टोकन सुरु गरिएको कार्यालय प्रमुख बिनोद पौडेलले जानकारी दिए । एक घण्टामा ३० वटा सवारी र १३ वटा लाइसेन्स नविकरण गर्ने गरी अनलाइन टोकन सुरु गरिएको उनले बताए । “कोभिड बढेकोले एक पटकमा २५ जना भन्दा बढी भिडभाड नहुने गरी सेवा प्रवाह गर्ने भन्ने २६ गतेको प्रशासनको आदेशपछि अनलाइन टोकन सुरु गरेका हौं, उनले भने, भिडको कारणले सेवा अवरुद्ध गर्न नपरोस् भनेर टोकन अनिवार्य गरेका हौं ।” कोभिडका कारण कार्यालय बन्द हुन नदिन भिडभाड कम गरेर सेवा प्रवाहको योजना रहेको उनले बताए
। सेवाग्राहीले कार्यालयको वेबसाइट chitwanyatayat.bagmati.gov.np मा गएर सजिलै अनलाइन टोकन लिन सक्नेछन् । वेबसाइटको भेटघाट व्यवस्थापन प्रणालीमा क्लिक गरेर नाम, मोबाइल नम्बर, लिन चाहेको सेवा र सेवा लिने मिति राखेर टोकन लिन सक्नेछन् । कार्यालयको सिस्टमले एक घण्टामा १५ जनालाई सेवा दिने गरी समय व्यवस्थापन गर्छ । सोही समयमा अनुसार कार्यालय गएर सेवा लिन सक्नेछन् । “सिस्टमले समय दिन्छ । पहिलो १५ जनालाई १० देखि ११ बजे, दोस्रो १५ जनालाई ११ देखि १२ बजे, यसरी समय दिन्छ, उनले भने, ११ देखि १२ बजेलाई समय दिएको सेवाग्राही अरु समयमा आउन पर्दैन ।
त्यही समयमा लिन आउँदा बाहिर पनि भिड नहुने भित्र पनि भिड नहुने गरी मिलाउन खोजेको हो ।” अनलाइन टोकन लिएर आएपछि मात्रै सेवा दिने गरी व्यवस्थापन भइरहेको उनले बताए । अनलाइन टोकन सुरु गरेपछि बाहिरबाट पैसा तिरेर टोकन लिने काम पनि रोकिने उनको भनाइ छ । अनलाइन टोकन लिँदा खर्च पनि नहुने बताए । उनका अनुसार प्रिन्ट नगरी मोबाइलमा टोकन लिएर सजिलै सेवा लिन सकिनेछ । लाइसेन्स नविकरणमा अनलाइन टोकन शतप्रतिशत प्रभावकारी देखिएको छ ।
सवारी नविकरणमा पनि बिस्तारै प्रभावकारी देखिने कार्यालय प्रमुख पौडेलको भनाइ छ । कार्यालयले मंसिर १२ गतेबाट लाइसेन्स नविकरण सेवा सुरु गरेको थियो । सेवा सुरु भएको भोलि पल्टै मंसिर १३ गतेबाट नै अनलाइन टोकन सुरु भएको हो । कार्यालयमा अहिले दैनिक ६० जना भन्दा बढी लाइसेन्स नविकरण सेवा बारे परामर्श लिन आउने गरेका छन् ।
ति मध्ये दैनिक ४० भन्दा बढीले नविकरण सेवा लिने गरेका छन् । कार्यालयले अहिलेसम्म ६ सय भन्दा बढी लाइसेन्स नविकरण गरिसकेको छ । कार्यालयले पेपरकार्ड र स्मार्ट दुबै लाइसेन्स नविकरणको सेवा दिइरहेको छ ।








