चितवन । चितवनमा प्रतिवन्धित क्युनेट नेटवर्किङ बिजनेशको नाममा ठगी गर्ने एक समूहलाई जिल्ला कारागार भरतपुर चलान गरिएको छ । क्युनेट नेटवर्किङ बिजनेशको नाममा ठगी गर्ने भारतको राजस्थानस्थित शास्त्री नगर जयपुरका २८ वर्षीय जितेश वर्मा, भारतकै हरियाणा प्रदेश गुडगाउँको कोलारसका ३४ वर्षीय ३४ अंकित शर्मा र चितवनको भरतपुर महानगरपालिका २६ का ३६ वर्षीय सरोज घिमिरेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
संगठित रुपमा नेटवर्किङ ठगी गरेको कसुरमा उनीहरुलाई बुधवार कारागार चलान गरिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए । उनीहरु मंसिर १७ गते भरतपुरस्थित सिजी ल्याण्डमार्कको मिटिङ हलबाट पक्राउ परेका थिए ।
सिजी ल्याण्डमार्कको मिटिङ हल नेटवर्किङ बिजनेश सम्बन्धि सेमिनार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये सरोज घिमिरेले बिकास घिमिरे नाम गरेका एक युवालाई प्रलोभनमा पारेर २७ लाख ५० हजार ठगी गरेको समेत खुलेको थियो ।








