चितवन । चितवनमा ‘तपाईको मास्क खोई ?’ अभियान फेरि सुरु भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज (आइतबार) बाट ‘तपाईको मास्क खोई ?’ कार्यक्रमलाई निरन्तरता दिईएको हो । आज भरतपुरको चौबिसकोटीमा चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारी, ट्राफिक कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक भगवानराज थापालगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना संक्रमण बढी रहेको अवस्थामा अझै पनि बिना मास्क यात्रा गर्नेहरुलाई लक्षित गर्दै कार्यक्रम सुरु गरिएको ट्राफिक प्रमुख, प्रहरी निरीक्षक थापाले जानकारी दिए । सार्वजनिक तथा निजी सवारी साधनमा मास्क नलगाई यात्रा गर्नेहरुहरुलाई ‘तपाईको मास्क खोई ?’ भन्दै सम्झाई बुझाई गरिएको उनले बताए । सार्वजनिक सवारी साधनका चालक, सहचालक, यात्रु, पैदलयात्रु, ठेला व्यवसायीलगायातलाई सम्झाई बुझाई गर्नुका साथै मास्क समेत वितरण गरिएको उनले जानकारी दिए ।
थापाका अनुसार आज पहिलो दिन मात्रै करीब पाँच सय मास्क वितरण गरिएको छ । सर्वसाधारणमा मास्क बारे जनचेतना फैलाउनका लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । “हामीले अनिवार्य मास्क प्रयोग गर्दा कोरोनाबाट बच्न सकिन्छ, उनले भने, मास्कले सुरक्षा प्रदान गर्छ भन्ने जनचेतनालाई लागि कार्यक्रम गरेका हौं ।” यस्तै उनले सर्वसाधारण आँफै सचेत हुनुपर्नेमा समेत जोड दिए । “प्रहरी, ट्राफिक प्रहरीको एकल प्रयासले मात्रै हुँदैन ।
सर्वसाधारण आँफै सचेत हुनुपर्यो, उनले भने, हामीले जनचेतना फैलियोस् भनेर मात्रै कार्यक्रम गरेका हौं । सचेत हुनुहोस्, मास्क लगाउनुहोस्, सुरक्षित रहनुहोस् ।” अहिले अधिकांशले मास्क प्रयोग गर्ने गरे पनि चितवनमा अझै करीब २० प्रतिशतले मास्क नलगाउने गरेको पाईन्छ । त्यस्ता व्यक्तिहरुलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरेको हो । कोरोना संक्रमण सुरु भएदेखि ट्राफिक प्रहरीले आवश्यकता अनुसार ‘तपाईको मास्क खोई’ कार्यक्रम सञ्चालन गर्दै गएको छ ।








