काठमाडौं । श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकन नेभी स्पोर्टस् क्लबलाई ८१ रनले पराजित गरेको छ । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी स्पोर्टस् क्लबले ३० ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि एक ११५ रनमात्र बनाउन सक्यो । नेपालका पवन सर्राफले तीन विकेट लिए ।
यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा विक्रम सोब, कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९६ रनको योगफल तयार पारेको थियो । नेपालका लागि दिपेन्द्रले सर्वाधिक ६३ रन जोड्दा भीम सार्कीले २८,विवेक यादवले २६ र पवनले २२ जोडेका थिए ।
त्यस्तै सन्दीपले अविजित १४ रन थपेका थिए । ३०.४ को स्थितिमा रहेको नेपालको इनिङ दिपेन्द्र र पवनले पाँचौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै खेल सुधारेका थिए । यसअघि पहिलो खेलमा नेपाल १११ रनले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको नेभी १०३ रनमा समेटिएको थियो । नेपालले १ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ ।
नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।








