चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने आफ्नो अडान कायमै राखेका छन् । बिहीबार बिहान होटल सिराइचुलीमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा पौडेलले आफ्नो अडान दोहोर्याएका हुन् ।
भेटपछि बागी उम्मेदवार पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न रामचन्द्र पौडेलले आग्रह गरेको तर आफूले अडान कायमै राखेको बताएका हुन् । ‘उहाँले आफ्नो कुरा गर्नुभयो । हामीले पुरानै अडान राखेका छौँ। यहाँ कांग्रेसले मेयर पाउनुपर्छ भन्ने मेरो कुरा हो’ उम्मेदवार पौडेलले भने, ‘यदि मैले पछि हट्नुपर्छ भने रेनु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ।
त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नुपर्छ। यदि त्यसो हुन्छ भने म पछि हट्न तयार छु।’ साथै, उनले थपे ‘म त चुनावी अभियानमा गइसकेको छु । मैले भनेर अब केही हुँदैन। यहाँ मेरो अघिपछि हजारौँ कार्यकर्ता छन्। अब मलाई फिर्ता गर नभन्नु होला । मलाई पछि हट्नु भन्दा पनि कांग्रेसले रेनुलाई सघाउने निर्णय फिर्ता लिनु उचित हुन्छ । ’ भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी दाहाल मेयर र कांग्रेसका चित्रसेन अधिकारी उपमेयरको उम्मेदवार बनेका छन्।
दाहालले नै पुनः दोस्रोपटक टिकट पाएपछि पूर्वसांसद समेत रहेका जगन्नाथले स्वतन्त्र उम्मेदवारी दिए। यसअघि कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण र उमेशलाल श्रेष्ठले पनि चितवन आएर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।
तर, उनले आफ्नो अडान कायमै राखेका छन् । यसैबीच बिहीबार नै भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउदैछन् ।








