चितवन । चितवनको कालिका नगरपालिमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय शमीपुरलाई स्कुल बस हस्तान्तरण गरिएको छ । विद्यालयले आयोजना गरेको छात्रवृत्ति वितरण, एसईई सम्मान तथा बस हस्तान्तरण कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बसको चावी हस्तान्तरण गर्नुभयो ।
शमीपुर नमुना विद्यालयमा विद्यार्थीको बढ्दो चापलाई आधार मानेर स्कुललाई बस प्रदान गरिएको हो । विद्यालय लाई बस हस्तान्तरणसँगै एसईई परीक्षामा सहभागी २१ जना विद्यार्थीलाई स्कुलले सम्मान गरिएको छ । शमीपुरले अनुमति नपाएका कारण आफ्नो विद्यार्थीलाई पृथ्वी माविको तर्फवाट परीक्षामा सहभागी गराएको थियो । यो पटक शमीपुरमा अध्ययनरत २१ जनाले एसईई परीक्षामा सहभागीता जनाएका थिए । सहभागी सबै विद्यार्थीले उत्कृष्ठ अंक ल्याएर पास भएका छन् ।
विभिन्न व्यक्तिहरुवाट सहयोग स्वरुप प्राप्त ६ जना विद्यार्थीहरुलाई साईकल समेत वितरण गरिएको छ । नगरपालिका उपप्रमुख विमला तमाङले साईकल वितरण गर्नुभएको हो । कार्यक्रममा एसईई परीक्षामा सत–प्रतिशत विद्यार्थी पास गराउन सफल चारजना शिक्षकहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित हुने शिक्षकहरुमा अर्थ शास्त्र विषय पढाउनुहुने शिक्षक यशोदा खनाल, स्वास्थ्य विषय पढाउनुहने गणेश खवास थारु,अंग्रेजी विषय पढाउनुहुने शिक्षक सावित्री देवकोटा, कम्प्यूटर विषय पढाउनुहुने दिपेश बस्नेत शिक्षक सम्मानित हुनुभएको हो ।
यस्तै एसईई परीक्षाको बेला यातायातको सहज वातावरण बनाउन सहयोगगर्नुहुने होस्टेलका वार्डेन सुदिप श्रेष्ठ र सपना श्रेष्ठलाई समेत सम्मान गरिएको छ । यस्तै बस चालक लाल केशर चौधरी पनि सम्मानित भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमवहादुर खड्काको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रम अझै जारी छ ।








