चितवन । पूर्वीचितवनको खैरहनीमा रहेको मिलिजुली बधशालाकामा कार्यरत कामदारहरुलाई खाद्य स्वच्छता सम्बन्धी सचेतनामूलक तालिम दिइएको छ । युएस ऐडको फूड इन्टरप्राइज सोलुसन्सको सहकार्यमा आज बधसालामै कामदारहरुलाई खाद्य स्वच्छता सम्बन्धी प्रशिक्षण दिइएको हो ।
फूड इन्टरप्राइज सोलुसन्सका खाद्य स्वच्छता विशेषज्ञ निर्वेक श्रेष्ठले व्यक्तिगत सरसफाई र मेसिनको सरसफाई , फोहोर व्यवस्थापन, परिसर र कार्यस्थलको सरसफाई , पेस्टको नियन्त्रण , गुणस्तरहिन उत्पादनको व्यवस्थापन ,उपभोक्ता सचेतना , उत्पादन प्रक्रियाको नियन्त्रण र रेकर्ड व्यवस्थापन लगायतको बिषयमा प्रशिक्षण दिएका थिए ।
तालिममा स्वच्छ तथा उपभोग गर्न योग्य मासु तथा मासुजन्य पदार्थको उत्पादनका लागि खाद्य स्वच्छताका आधारभूत सिद्धान्तहरु , मासु प्रशोधन गर्ने क्रममा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यन्वयन कसरी गर्न सकिन्छ भनेर कामदारहरुलाई जानकारी दिन तालिम आयोजना गरिएको बधशालाका संचालक मनोज खड्गीले बताए ।
कार्यक्रममा बोल्दै खड्गीले मासु पसल भनेर व्यवसाय दर्ता गरेकाहरुले सोहि स्थानमा पशु बध गरेर मासु बिक्री गर्न नपाउने भन्दै एकै स्थानमा बध गर्ने र बिक्री गर्दा त्यहाँ खाद्य स्वच्छता हुन नसक्ने दावी गरे । यस बिषयमा स्थानिय सरकार लगायत सरोकारवाला निकायहरुले चासो नदिएको उनले गुनासो गरे ।
कार्यक्रममा फूड इन्टरप्राइज सोलुसन्सका राष्ट्रिय निर्देशक फाइन्द्रराज पाण्डेले तालिममा सहभागी भएकाहरुले खाद्य स्वच्छता सम्बन्धी पालना गर्नुपर्ने नियम , विभिन्न मापदण्डहरु लागु गर्नेमा आफू विश्वस्त रहेको बताए ।









