काठमाडौं। गायक प्रकाश तिमल्सिना मृत फेला परेका छन्। ललितपुर महानगरपालिका वडा नं. १९ भैँसेपाटीमा बस्दै आएका ३५ वर्षीय तिमल्सिना शनिवार अपराह्न सुतिरहेको खाटमा मृत भेटिएका हुन् ।
उनको मुखबाट थोरै रगत निस्किएको अवस्था देखिएको प्रहरीले जनाएको छ। तिमल्सिना श्रीमतीसहित त्यहाँ बस्दै आएका थिए। घटना हुँदा भने श्रीमती विराटनगरमा थिइन्। घटनापछि श्रीमती आइपुगेकी छिन् ।
प्रहरीले साँझ ९ बजे तिमल्सिनाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल ल्याइएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा तिमल्सिनाको स्वास्थ्यमै अचानक आएको समस्याले मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।
‘प्रिय तिम्रो सिउँदोमा’लगायत थुप्रै गीत गाएका उनी रियालिटी सोबाट चम्किएका थिए। उनी दृष्टिविहीन हुन् ।








