चितवन । आदर्श नारी विकास केन्द्रले बाढी प्रभावित विद्यालयका विद्यार्थीहरुका लागि निशुल्क पोशाक वितरण गरेको छ । हालै आएको बाढी डुवानमा परेका भरतपुर महानगरपालिका वडा नम्बर १६ का ४ विद्यालयका २६६ विद्यार्थीहरुका लागि विद्यालयको पोशाख वितरण गरिएको हो । संस्थाले आफ्नै सदस्यहरुसंग संकलन गरेको रकमबाट कार्यक्रम गरिएको हो ।
बाढी प्रभावित क्षेत्रमा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन वडा नम्बर १६ का वडाध्यक्ष अमृत हमालले एक द्धार संकट व्यवस्थापन केन्द्रमार्फत कार्य भइरहेको जानकारी गराउनुभयो । उहाँले प्रभावित क्षेत्रमा आई विद्यालयमा परेको विपतमा साथ र सहयोग प्रदान गर्ने आदर्श नारी विकास केन्द्रप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
राहत वितरणमा डुव्लिकेशन नहोस् भन्ने हाम्रो चाहना हो उहाँले भन्नुभयो , आदर्शले वडासंग समन्वय गरेर जुन कार्य गरेको छ यो प्रशंसायोग्य छ । खाद्यान्न दिने संघसंस्थाहरु प्रभावित क्षेत्रमा पुगेपनि विद्यालय पोशाक र शैक्षिक सामाग्री विरतण गर्न आदर्श नारी पहिलो पटक पुगेको श्री दुर्गा शेषकान्त माध्यमिक विद्यालयका प्राधानाध्यापक माधप पौडेलले बताउनुभयो ।
डुवानका कारण प्रभावित विद्यार्थीहरुमा विद्यालय ड्रेसको समस्या परेको थाहा पाएपछि संस्थाले वडाध्यक्ष हमालसंग समन्वय गरि वडाको अनुमतिबाट नै प्रभावित विद्यालयमा पोशाक वितरण गरेको संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले बताउनुभयो
संस्थाका संस्थापक सचिव एवं महिलाअधिकारकर्मी मीना खरेलले कुनै दातृ निकाय या अन्य व्यक्तिको नभई आदर्श अभियानकै सदस्यहरुको सहयोगबाट संकलित रकमलाई प्रभावित क्षेत्रमा सदुपयोग गरिएको स्पष्ट पानुभयो ।
महिला तथा बालबालिकाहरु विना भेदभाव सम्मानित एवं शोषण मुक्त जीवन बाँच्न सक्ने अवस्थाको सृजना गरि उनीहरुमाथिको विभेद, शोषण, दमन र हिंसात्मक गतिविधिहरुको अन्त्य गर्ने लक्ष्यका साथ २०४९ सालमा स्थापित यस संस्थाले प्राकृतिक विपत्तीमा परेकाहरुका लागि निरन्तर रुपमा सहयोग गर्दै आएको छ ।
यस संस्थाले जोखिम अवस्थामा रहेका घरेलु तथा लैगिंक हिंसा, ससस्त्र द्धन्द्ध र बेचविखनमा परेका महिलाहरुको उद्धार, संरक्षण, विकास र सम्मानका लागि सचेतना र क्षमता अभिवृद्धिका कार्यक्रम संचालन मार्फत उनीहरुलाई आर्थिक शसक्तिकरणका लागि कार्य गर्दै आएको छ ।








