हेटौंडा । बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डले हेटौंडा –१० सिसौघारीमा स्थापना गर्न लागेको पाउडर दुग्ध प्लान्ट टेण्डरको परामर्शदार्तामार्फत छानविन हुने भएको छ । प्रदेशको सार्वजनिक लेखा समितिको मंगलबार हेटौंडामा बसेको बैठकले पाउडर प्लान्ट निर्माणका लागि गरिएको टेण्डरको सम्पूर्ण कागजात मगाई परामर्शदातामार्फत छानविन गर्ने निर्णय गरेको हो । पाउण्डर प्लान्ट निर्माणको टेण्डरमा ठूलो आर्थिक अनियमितता भएको भन्दै उजुरी परेपछि लेखा समितिका संयोजक न्हुक्षेनारायण श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा सांसदहरु चन्द्र लामा, जिवन डंगोल, सिता अधिकारी, ओम ग्लान, विनोद खड्का र रमेश पौड्याल रहेका थिए । ‘दुग्ध विकास बोर्डले सबै कागजात उपलव्ध नगराएकाले पुनः कागजात माग्ने निर्णय गरियो’–समिति एवं कार्यदल संयोजक श्रेष्ठले भने–‘कागजात आएपछि परामर्शदाता नियुक्त गरी छानविन अघि बढाईने छ ।’ टेण्डर प्रकाशित भएपछि अनियमितताको उजुरी परेको थियो । त्यसपछि टेण्डर प्रक्रिया रोक्न लेखा समितिले दिएको निर्देशन समेत प्रदेश दुग्ध विकास बोर्डले वेवास्ता गरेको श्रेष्ठको भनाई छ । टेण्डरमा इजि इन्फ्रा प्रालि र गौरेश्वर निर्माण सेवा प्रालिले सहभागिता जनाएका थिए । भौतिक संरचना निर्माणसहित पाउडर प्लान्ट निर्माणका लागि करिब २५ करोड रुपैंया लागत लाग्ने भएपनि मूल्य बढाएर ४५ करोडको इष्टिमेट गरिएको र ४१ करोड २२ लाखमा निर्माणको जिम्मा दिएको भन्दै उजुरी परेको छ । उजुरीकर्ताले टेण्डर प्रक्रियामा एक दर्जन बढि त्रुटी औल्याएको जनाईएको छ । ‘कम लगातमा निर्माण हुनेमा मूल्य बढाएर टेण्डर दिईनुमै अनियमितताको आशंका गरिएको छ ।’–लेखा समितिका एक सदस्यले भने । समितिले टेण्डर प्रक्रियाबारे संघीय सरकार अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयबाट समेत राय मागेको छ ।








