चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘म असल चालक’ अभियान सञ्चालन गरेको छ । सडक सुरक्षा र सवारी दुर्घटना न्युनिकरण अभियान अन्र्तगत मंगलबारदेखि अभियान चलाइएको हो । दुई पाङ्ग्रे सवारी चालक लक्षित अभियानलाई एक महिना चलाइने ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।
चितवनमा भएका दुर्घटना विश्लेषण गर्दा ज्यान गुमाउने मध्ये ६३ प्रतिशत दुई पाङग्रे सवारीका चालक तथा यात्रु छन् । उहाँका अनुसार हरेक दिन गोन्द्राङ, टाँडी, पर्सा, भण्डारा, मुग्लीन र नारायणगढ लगायतका ठाउँमा चालकलाई करिब एक घण्टा प्रशिक्षण दिइनेछ । अभियान अन्र्तगत बाइक तथा स्कुटीमा ‘म असल चालक’ लेखिएको स्टिकर टाँसिने छ । बुधबार चौविसकोठिमा भएको कार्यक्रममा ३ सय ५० वटा सवारीमा असल चालक लेखिएको स्टिकर टासिएको छ । अभियानमा जनपथ प्रहरी पनि खटिएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले दुई पाङ्ग्रे सवारी चालकहरुलाई प्रशिक्षण दिनुभएको थियो । यो वर्षको ५ महिनामा सवारी दुर्घटनामा ५५ जनाले ज्यान गुमाएका छन् । जसमा ३५ जना दुई पाङ्ग्रे सवारीका चालक तथा यात्रु छन् ।









