इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिकाको विकट चेपाङ बस्ती थाप्राङमा एक घर एक धारा निर्माण गरिएको छ । इच्छाकामना गाउँपालिका,डब्लु एच एच, आरआर एन संस्था र स्थानीयको सहभागितामा इच्छाकामना १ धारा र खानेपानी ट्याङ्की निर्माण गरिएको हो । एक घर एक धारा अभियान अन्तरगत थाप्राङमा ४५ दिनमा ७१ वटा धारा निर्माण गरि स्थानीयलाई हस्तान्तरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
निर्माण गरिएको उक्त धारा र ट्याङ्की मंगलबार स्थानीयलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले भन्नुभयो, “एक घर एक धारा अभियान अन्तरगत यस दुर्गम बस्तीको घरघरमा खानेपानी सहितको धारा छोटो समयमै निर्माण गर्न सफल भएका छौँ, अब यहाँका जनताहरुले खानेपानी टाढाबाट बोक्नुपर्ने बाध्यता हटेको छ ।
” उक्त गाउँमा खानेपानी मात्र नभएर यस योजना मार्फत शौचालय निर्माण र व्यक्तिगत स्वच्छतामा समेत व्यापक सुधार आएको उहाँले बताउनुभयो । यस अघि थाप्राङ गाउँका बासिन्दाहरु घण्टौ सम्म हिडेँर खोलाबाट पानी बोक्न बाध्य थिए । अहिले प्रत्येक घरमा खानेपानीको धारा निर्माण भएसंगै स्थानीयहरु खुशी भएका छन् । गाउँपालिका कार्यापालिका सदस्य समेत रहेका भद्र चेपाङले अब घण्टौ लगाएर पानी बोक्ने दिनको अन्त्य भएको भन्दै गाउँपालिका र सहयोगी संस्थाहरुलाई धन्यावाद दिनुभयो ।
गाँउपालिकाबाट रु। छ लाख ८३ हजार ८६३ , रु। चार लाख ४५,हजार ६३४ जनश्रमदान, डब्लु एच एचबाट नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आर आर एन) संस्था को रु २०लाख १५हजार ७९१ गरि रु ३१ लाख ४५ हजार २६१ को लगानीमा धारा र खानेपानी ट्याङ्ककी निर्माण गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।








