हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । हेटौंडा–१० बसपार्कबाट पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ का ५० बर्षीय शंकर चौधरी र सोही स्थानका ५० बर्षकै राम विलास पासवान पक्राउ गरेको हो ।
बसपार्कस्थित सडक छेउमा शंकास्पद रुपमा उभिरहेका उनीहरुको झोला खानतलासी गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । झोलामा चारपाटे आकार बनाएर ल्याएको अवस्थामा १० किलो गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी ईन्द्रबहादुर रानाले जानकारी दिए ।
उनीहरुलाई पक्रेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।








