चितवन । प्रविधिको बढ्दो प्रयोगले मानव जीवन जति सहज बनेको छ त्यति नै समस्या पनि सृजना भएका छन् । इन्टरनेटको माध्यामबाट संसारका हरेक ठाँउहरु आफ्नै हातमा देख्न र पढ्न पाइन्छ । प्रविधिसँग रमाउन सक्नेहरुका लागि संसार निकै सानो महसुश हुन्छ । तर प्रविधिको विकाससँगै यसबाट अपराधीक कृयाकलापहरु पनि फैलिएका छन् ।
प्रविधिको प्रयोगले साइबर अपराध समेत बढ्दै गएको छ । आर्थिक बर्ष २०७७/७८ को ७ महिनाको तंथ्याक हेर्ने हो भने जिल्ला प्रहरी कार्यालय,चितवनमा साईबर अपराध सम्बन्धी १ सय १ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये अधिकांश सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, बेचबेखिन, फिरौती, धम्की, एटिएमबाट पैसा चोरी, तस्करी लगाएतका मुद्दाहरु रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाको भनाइ छ ।
यस्तै विद्युतीय कारोबारसम्बन्धि अपराधमा बढी पूर्व प्रेमी/ प्रेमिका, शिक्षक, विद्यार्थीहरू पर्ने गरेका छन् । साइबर अपराधमा मुद्दा दिनेहरू अधिकांशले मानहानी तथा चरित्र हत्या भएको भन्दै उजुरी दिएका छन् । युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेका छन् । जसमध्ये २० देखि ३० वर्ष उमेर समूहका व्यक्ति धेरै रहेका छन् । अहिले साइबर अपराधलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्ने प्राबधान छ ।
विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा रु एक लाख वा दुवै सजाय हुने व्यवस्था छ। प्रबिधिको गलत प्रयोगले घरबारविहीन हुने, पढाइ बिगार्ने, आत्महत्या गराउने र आत्महत्या गर्नको लागि प्रोत्साहन गरेको, कतिपय केशमा बलात्कारको कारण पनि बनेको जिल्ला प्रहरी कार्यालय चितवनको निचोड छ।








