चितवन । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले आज )बिहीबार) सम्पूर्ण शैक्षिक संस्था बन्दको आह्वान गरेको छ । पक्राउ परेका आफ्ना चितवन सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’ को रिहाईको माग गर्दै अखिल क्रान्तिकारीले आज जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।
विप्लव समुहले गत १० गते गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा समाजमा भय एवं त्रास उत्पन्न गराउने तथा उच्छृंखल गतिविधि गर्ने तयारी गरिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले श्रेष्ठलाई पक्राउ गरेको थियो । बुधबार एक चितवन संयोजक रेम्बोर्जे लामाद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारीले उनको रिहाईको माग गरेको छ ।
श्रेष्ठलाई प्रहरीले बिनाकारण गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै अखिल क्रान्तिकारीले उक्त विज्ञप्ती मार्फत नै घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । “अखिल (क्रान्तिकारि) का चितवन जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ सम्राटलाई माघ ९ गते सप्तगण्डकी बहुमुखि क्याम्पसबाट गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको छ।
फरक आस्था र विचार राखेको भरमा गिरफ्तार हुनुपर्ने यो केपि-बादल कम्पनिको घोर निन्दा र भर्त्सना गर्दछ”, विज्ञप्तीमा भनिएको छ ।








