पोखरा । नेपाली सेनाका राजन रोकाया १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी पहिलो भएका छन् ।
उनले उपाधिसहित नगद दुई लाख तथा ट्रफी पुरस्कार प्राप्त गरेका छन् । सेनाकै ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी दोस्रो हुँदै एक लाख पुरस्कार प्राप्त गरे भने देवीराज बस्नेतले दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्यारथनको निर्धारित दूरी पार गरी तृतीय स्थानमा अटाउँदै ७५ हजार रुपैंया प्राप्त गरे ।
पाँचथरका प्रदीप तामाङले दुई घण्टा ५४ मिनेट आठ सेकेण्डमा दूरी पार गरी सान्त्वना स्थानसहित २५ हजार पुरस्कार तथा ट्रफी प्राप्त गर्न सफल भएका छन् । यस वर्ष पहिलोपटक पोखरा म्याराथनमा महिलाका लागि २१ किमीको हाफ म्याराथन समावेश गरिएकामा नेपाल प्रहरीका राजपुरा पछाईँले हाफ म्याराथनको उपाधि एक घण्टा २७ मिनेट आठ सेकेण्डमा पूरा गरी एक लाख र ट्रफी पुरस्कार प्राप्त गरिन् ।








