चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको दोभान पुस्तकालयमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार सम्पन्न नवौँ साधारणसभा एव् अधिवेशनले विनोदकान्त ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । शनिबार सम्पन्न अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा पुरुषोत्तम सुवेदी, सचिवमा अञ्जु पण्डित, कोषाध्यक्षमा जनाकी वाग्ने चयन भएका छन् ।
११ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ । पुस्तकालयको साधारणसभाका क्रममा पुस्तकालय निर्माणमा सल्लाह सुझाव दिएर सहयोग पु¥याउने ६ जनालाई सम्मान गरिएको छ । पुस्तकालयका पूर्व अध्यक्ष सहितका व्यक्तिलाई शनिबार सम्मान गरिएको हो । कार्यक्रममा पूर्व सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदी, दोभान पुस्तकालयका पूर्व अध्यक्ष क्रमशः निलकण्ठ ढुङ्गाना, डा. राजेन्द्र रेग्मी, शशी किरण रेग्मी, कालिका प्रसाद वाग्ले र बाबुराम दवाडीलाई वाग्मती प्रदेशका सांसद विजय सुवेदीले अबिर माला सहित मायाको चिनो प्रदान गर्दै सम्मान गरेका हुन् ।
कार्यक्रममा सुवेदीले हरेक व्यक्ति स्वाभिमानि भएर बाचे देशको विकास छिट्टो हुनेमा जोड दिए । पुस्तकालय निर्माणमा सबैले अहोरात्र खटिएर काम गर्दा भौतिक पूर्वधार निमार्णले तीव्रता पाएको भन्दै उनले सबैले राष्ट्रको लागि सोचेर काम गर्दा विकास चाँडै हुने बताए । साथै उनले पुस्तकालयले त्यस क्षेत्रको सोभा बढाउने भन्दै प्रदेशबाट गर्नुपर्ने जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । दोभान पुस्तकालयका अध्यक्ष राम प्रसाद वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकालयका कोषाध्यक्ष नरहरी किरण पौडेलले आर्थिक प्रतिवेदन, सचिव अमृत अधिकारीले प्रगति प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका अध्यक्ष रामप्रसाद ओस्तीले ४४ सालमा पुस्तकालय स्थापना हुँदा भाडाको कोठामा सञ्चालन गरिएको भन्दै अहिले आफ्नै भवन रहेको बताए । विभिन्न व्यक्तिहरुको सहयोगका कारण पुस्तकालयलाई व्यवस्थित गर्दै पुस्तकालय सञ्चालन गरिएको उनको भनाइ थियो ।








