नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुरले आज (मंगलवार)दोस्रो स्थापना दिवस मनाउँदैछ । नवलपरासी जिल्ला दुई जिल्लामा विभाजित भएपछि नवलपुरमा पत्रकार महासंघ शाखा स्थापना गरिएको थियो । २०७५ साल फागुन १८ गते स्थापना भएको शाखाले आज (मंगलवार) आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारी लक्ष्मीनारायण बृद्धाश्रम पिठौलीमा फलफूल वितरण गर्ने भएको अध्यक्ष होमराज रानाभाटले जानकारी दिनुभयो ।
दिउँसो २ः०० बजे सोही बृद्धाश्रममै पुगेर कार्यक्रम गर्ने उहाँको भनाई छ । साथै स्थापना दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष रानाभाटले श्रमजीबीको मुद्दामा महासंघ सधैँ एक भएर अघि बढिरहेको र बढिरहने बताउनुभयो । यो मुद्दामा मुर्तरुप पाउन सबैको साथ र एकता आवश्यक भएको भन्दै आजको स्थापना दिवसले थप एकता र जनताको आवाज उठान गर्ने हौसला सवैलाई मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । महासघ नवलपुर शाखाले २०७६ फागुन १८ गते प्रथम स्थापना दिवस शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा आवासिय रुपमा अध्ययन गरीरहेका अनाथ वालवालिकाका लागि खाध्यान्न सहयोग गरी मनाएको थियो ।
विधालयका २३ जना अनाथ असाहाय विधार्थी आवासिय रुपमा अध्ययन गर्दै आइरहेका थिए ।महासंघले यसै वर्षको पौष १८ गते प्रथम साधारण सभा समेत सम्पन्न गरेको थियो । साधारण सभामा नेपाल पत्रकार महासंघ नवलपरासी वि।सं।२०४७ सालमा स्थापना गर्ने नवलपुरका तत्कालीन पत्रकारहरु संस्थापक सभापति भूपेन्द्र शर्मा भट्टराई , सह–सचिव विष्णुदेवी पाण्डे र सल्लाहकार गोविन्दराज विनोदीलाई नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीको नवलपुर शाखाको प्रथम साधारणसभामा सम्मान गरिएको थियो ।
साथै स्वर्गीय कृष्णलाल पराजुली स्मृति पुरस्कारबाट नवीन पौडेल अग्रज पत्रकारहरुमा २० बर्ष पत्रकारिता गर्नुभएका नारायण शर्मा , होमराज रानाभाट , लाल कुमार भट्टराई , होमनाथ जैसी , क्रियाशील पत्रकारहरु धनु भुसाल , राम कुमार श्रेष्ठ र दयाराम आचार्यलाई पनि सम्मान गरिएको थियो ।








