काठमाडौं । सर्वोच्च अदालतको आदेशका पछि पुनःस्थापित प्रतिनिधिसभाको चौथो बैठक आज बस्दैछ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको छ । कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधबार निधन भएको थियो ।
सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनिरहेको छ । राजनीतिक दलहरुबीच पछिल्लो समय विवाद बढ्दै जाँदा संसद बैठक प्रभावित हुँदै आएको छ ।
संसद विघटन उल्टिएपछि फागुन २३ गते बसेको पहिलो बैठकमा सत्ता पक्षको असन्तुष्टि र प्रतिपक्षीको विरोधका कारण बैठक प्रभावित भएको थियो । त्यसपछिका बैठकहरु शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएका थिए ।








