काठमाडौँ । बिनासुनुवाइ ४० वर्ष जेलमा रहनुको पीडा कति हुन्छ ? इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी तिम्सिना) बताउन सक्दैनन्। भारतको कोलकातास्थित दमदम कारागारमा रहेका दीपक बुधबार साँझ मात्रै छुटेर खुला संसारमा निस्किएका हुन्।
भारतकै दार्जिलिङबाट पक्राउ परी उनलाई विभिन्न कारागार हुँदै कोलकाता पुर्याइएको थियो। उनले ‘म निर्दोष छु’ मात्रै भनेको भाइ प्रकाशचन्द्र तिम्सिनाले सुनाए। ‘दाइको स्वभाव ८–९ वर्षको बच्चाको जस्तो भएको छ’, प्रकाशचन्द्रले टेलिफोनमा अन्नपूर्ण पोस्ट्सँग भने, ‘बिनासुनुवाइ यो अवस्थामा पुर्याउनुको पनि न्याय चाहियो।’ कर्तव्य ज्यान मुद्दामा दीपक बिनासुनुवाइ ४० वर्षभन्दा बढी भारतीय कारागारमा बस्न बाध्य भएका हुन्।
उनी भाइ र आफन्तका साथ आइतबार माई नगरपालिका–१० स्थित घर आइपुग्दै छन्। उच्च अदालत कोलकाताले बुधबार साँझ रिहा गर्न आदेश दिएपछि उनी घर आउन पाएका हुन्। अदालतले दार्जिलिङबाट पुराना कागजात मगाएपछि उनको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखी रिहा गर्न आदेश दिएको भारतका कानुन व्यवसायी हीरक सिन्हाले बताए। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।








