काठमाडौं । केही दिनदेखि राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा देखिएको वातावरण प्रदूषणको उग्र रूपले मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने देखिएको छ । प्रदूषणको समयमा मनपर्दी हिँडडुल गर्दा स्वास्थ्यमा दीर्घकालीन समस्या पर्न सक्ने चिकित्सकले बताएका छन् । उनीहरूले वातावरण प्रदूषण बढ्दै गएको भन्दै सचेत र सजग रहन सर्वसाधरणलाई आग्रह गरेका छन् ।
केही दिनयता धुलोधुवाँका कण वातावरणमा अत्यधिक बढेपछि प्रदूषण दर उच्च भएको हो । वातावरण प्रदूषण बढ्दै जाँदा यसले अल्पकालीन र दीर्घकालीन जोखिम निम्त्याउने चिकित्सक बताउँछन् । वरिष्ठ छाती रोग विशेषज्ञ सहप्राध्यापक डा. निरज बमले धुम्रपान नगर्ने व्यक्ति पनि वातावरण प्रदूषणका कारण धुम्रपान गरेसरहको समस्याबाट ग्रसित हुनुपर्ने अवस्था आएको बताए ।
डा. बमका अनुसार यस्तो अवस्थामा १० पीपीएमभन्दा साना धुलोका कण र २.५ पीपीएम (पार्टिकुलेट म्याटर) भन्दा साना ग्याँसका कण श्वासनलीमा प्रवेश गर्छन् र फोक्सोको श्वासनलीका भित्तामा क्रियाप्रतिक्रिया उत्पन्न गराएर श्वासनलीको भित्री भागमा समस्या गर्छ, जसका कारण सो भाग सुन्निन सक्छ । यसैगरी, नाकको प्वालदेखि तलसम्म र फोक्सोका श्वासनलीमा एलर्जी गराएर रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार हुने, सास फेर्नसमेत समस्या देखिने र आँखा पोल्ने, छाला चिलाउनेजस्ता गम्भीर समस्या देखापर्न सक्ने डा. बलमे बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।








